११ कार्तिक २०८१, आइतबार 1730030596
शिक्षा /स्वास्थ्य

वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य सेवा दिने एम्बुलेन्सलाई रबीले बनाए ‘मोबाइल क्लिनिक’

काठमाडौं । भरतपुरको पुरानो मेडिकल कलेजले ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित गरेको एम्बुलेन्सलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामीछानेले ‘मोबाइल क्लिनिक’ बनाएको पाइएको छ । रबीले प्रयोग गरेको ना २ च ५६१९ नम्बरको मोबाइल भ्यान अस्पतालको एम्बुलेन्स हो ।

बसको जस्तै रंग परिवर्तन गरिएको मोबाइल क्लिनिक भ्यान, लामिछानेलाई कलेजले दिएको हो । कलेजलाई सो एम्बुलेन्स भारतीय दूतावासले २०७१ सालमा दिएको थियो ।

विगत ५ वर्षदेखि नवीकरणसमेत नगरेको एम्बुलेन्स साउन १४ गते यातायात कार्यालय भरतपुरमा जरिबाना तिरेर पुनः दर्ताको प्रकृयामा गएको छ । एम्बुलेन्सको पुनः दर्ता तथा जरिबाना वापत ३४ हजार २५० रुपैयाँ तिरेको यातायात कार्यालयले जनाएको छ। कलेजले यातायात व्यवस्था कार्यालयलाई गाडीको रंग परिवर्तनको अनुमतिका लागि पत्राचार गरेको छ ।

मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै व्यवस्था गरिदिएको छ । कलेजबाट नै जनशक्ति पठाएर अहिले टोल–टोलमा उपचार गर्न भनिएको कलेजका एक चिकित्सकले जानकारी दिए । मेडिकल कलेजका आवासीय निर्देशक डा.मनोहर प्रधान केही दिन अगाडि रास्वपामा प्रवेश गरेर पार्टीको बागमती प्रदेशको स्वास्थ्य संयोजक बनेका छन् ।