३ आश्विन २०८१, बिहिबार 1726732543
Banner

प्रविधिको दुरुपयोग गरी चरित्रहत्या गर्नेलाई कारबाही होस्: उपप्रमुख डंगोल

काठमाडौं-काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडी खोलिएका सामाजिक सञ्जालका अनधिकृत खाता तथा पेज हटाई त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पुनः आग्रह गर्नुभएको छ। यसअघि पनि त्यस्ता पेजहरू बन्द गर्न आग्रह गरेको र अहिलेसम्म बन्द नभएको भन्दै उपप्रमुख डंगोलले पुनः आग्रह गर्नुभएको हो। २०८१ जेठ १३ र असार २५ गते केही फेसबुक पेजहरूलाई बन्द गर्न पत्राचार गरेको तर अहिलेसम्म पनि प्रयोगमै रहेको उहाँको गुनासो छ।

उपप्रमुख डंगोलको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख लेखिएको छ, ‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सञ्जालहरूमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरू हाटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरूलाई कानुनबमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु।’

उपप्रमुख डंगोलले पनि अनधिकृत तरिकाले खोलिएका पेजहरुमार्फत महिलाको चरित्रहत्या गर्ने, समाजमा विद्वेष फैलाउनेजस्ता गलत गतिविधि मौलाएको भन्दै त्यस्ता पेजहरूको निगरानी गर्न र बन्द गराउन आग्रह गरेको जानकारी दिनुभयो।