६ आश्विन २०८१, आइतबार 1727007686
Banner

सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । सुक्खा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।  

उक्त सडकखण्डमा आज बिहानदेखि पहिरो खस्दा करिब ५० मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको उनले बताए ।  

सुरक्षाकर्मीको टोली खटाई स्थानीय तह र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । 

उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो । रासस