२९ भाद्र २०८१, शनिबार 1726339941
प्रदेश

गुह्येश्वरीबाट थापाथली पुलसम्मको वाग्मती दायाँबायाँका अनधिकृत संरचना हटाइने

काठमाडौँ- गुह्येश्वरीबाट थापाथली पुलसम्मको वाग्मती किनारका दायाँबायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।

नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन समितिको आयोजना उपप्रमुख अमित रञ्जितले जारी गर्नुभएको सूचनामा उल्लेख छ । यसअघि पनि यस्ता संरचना हटाउन पटकपटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनःसूचना प्रकाशन गर्न बाध्य हुनुपरेको समितिले जनाएको छ ।

तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइने छ । समितिले यसअघि गोकर्णबाट गुह्येश्वरीसम्मको नदि किनारमा बनेका करिब चार दर्जन स्थायी एवं अस्थायी संरचना पनि हटाएको थियो ।।