काठमाडौं । सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने कार्यलाई तीव्र बनाएको छ । बस्ती हटाउने क्रममा उल्लेखनीय संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख विष्णुप्रसाद जोशीले हालसम्म वास्तविक रूपमा ‘होमलेस’ अर्थात् बसोबासविहीन व्यक्ति फेला नपरेको बताए ।
उनले भने, ‘अहिलेसम्म वास्तविक होमलेस भेटेक छैनौँ । जो असक्त, वृद्ध, गर्भवती महिलाहरू हुनुहुन्थ्यो, उहाँहरूले जहाँ जान्छु भन्नुभयो, त्यहीँ पठाएका छौँ । ठाउँ छैन भनेर एकजना पनि आउनुभएको छैन । दुईवटा परिवारलाई बिरामी भएर अस्पताल पुर्याएका छौँ । उहाँहरूको सामान पुर्याउन चारवटा ट्रक पनि परिचालन गरेका छौँ । भित्र ट्रस, टहराहरूबाट सामान बाहिर निकाल्ने काम भइरहेको छ ।’
उनले थपे, ‘होमलेस नभएकाहरु सबै आ–आफ्नो गन्तव्यतिर लागिरहनुभएको छ । कोही होमलेस हुनुहुन्छ भने आउनुस् भन्दा कोही आउनुभएकै छैन ।’ नगरप्रहरी प्रमुख जोशीका अनुसार संघीय प्रहरीको संख्या यकिन नभए पनि काठमाडौं महानगरपालिकाले दुई सय नगर प्रहरी परिचालन गरेको छ ।


