३१ असार २०८३, बुधबार 1784147035
Banner

नेपाल–भारत ऊर्जा सहकार्य बैठक सम्पन्न, प्रसारण लाइन र विद्युत् व्यापारलाई तीव्रता दिने सहमति

काठमाडौं-  नेपाल र भारतबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार जेएससीको १३औँ बैठक बुधबार भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीको सह-अध्यक्षतामा सम्पन्न भएको हो।

त्यसअघि मंगलबार जेडब्ल्युजीको १३औँ बैठक भारत सरकारका विद्युत् मन्त्रालयका सहसचिव (प्रसारण) पंकज कुमार र नेपाल सरकारका ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको सह-अध्यक्षतामा बसेको थियो।

बैठकमा जलविद्युत् आयोजनाको विकास, सीमा पार विद्युत् व्यापार तथा प्रसारण पूर्वाधारलगायत नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा विस्तृत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।

दुवै पक्षले ४०० केभी गोरखपुर–न्यू बुटवल अन्तरदेशीय प्रसारण लाइनसहित निर्माणाधीन तथा प्रस्तावित प्रसारण लाइन आयोजनाको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै तिनको कार्यान्वयनलाई थप तीव्रता दिने र आवश्यक सहजीकरण गर्ने उपायबारे छलफल गरेका छन्।

यस्तै, भारतीय र नेपाली विद्युत् ग्रिडको समन्वयात्मक सञ्चालन, सौर्य ऊर्जा आयोजनाको विकास, ग्रीन हाइड्रोजनमा सहकार्य तथा नेपाली ऊर्जा क्षेत्रका विज्ञहरूको क्षमता अभिवृद्धिका विषयमा पनि दुवै पक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ।

यसैबीच, जेएससी बैठकअघि मंगलबार भारत सरकारका विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नु भएको थियो ।

मन्त्रालयका अनुसार संयुक्त निर्देशक समितिको बैठकमा भएका छलफलले नेपाल–भारत ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउन र भविष्यका संयुक्त ऊर्जा आयोजना तथा विद्युत् व्यापारलाई अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।