१० श्रावण २०८३, आइतबार 1785085497
कुटनीतिक

भारत सरकारको सहयोगमा कञ्चनपुरमा विद्यालय भवनको शिलान्यास

काठमाडौं । भारत सरकारको सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

भारत सरकारको आर्थिक सहयोग करिब १.९ करोड लागतमा यो विद्यालय भवनको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना कञ्चनपुरको भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुनेछ । नेपालको कञ्चनपुर जिल्लामा सञ्चालन भइरहेको यो ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका उपप्रमुख तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो र वहाँहरुले नयाँ पूर्वाधारले भीमदत्त नगरपालिकाका विद्यार्थी र शिक्षकहरुको लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ ।