१० श्रावण २०८३, आइतबार 1785100249
कुटनीतिक

भारत सरकारको सहयोगमा डोटीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी जिल्लाको बडीकेदार गाउँपालिकामा रहेको श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस (केदार सूर्य बहुमुखी क्याम्पसको रूपमा पुन ः नामाकरण गरिएको) को आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।

प्रत्येक तलामा ७ वटा कोठा र अन्य सम्बद्ध सुविधाहरू भएको दुई तल्ले क्याम्पस भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा गरिएको हो। यो परियोजना डोटीको बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो।

बडीकेदार गाउँपालिकामा अवस्थित केदार सूर्य बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस हो। यस क्याम्पसमा ब्याचलर अफ एजुकेसन (बि. एड.) र ब्याचलर अफ बिजनेस स्टडिज (बिबिएस) कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

बडीकेदार गाउँपालिकाका अध्यक्ष, क्याम्पस व्यवस्थापन तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो। वहाँहरूले यो नयाँ पूर्वाधारले यस क्षेत्रको शैक्षिक पूर्वाधारलाई सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारद्वारा नेपालका ७ वटै प्रदेश र ७४ वटा जिल्लाहरू समेट्ने गरी विभिन्न क्षेत्रहरूमा करिब ६०० वटा परियोजनाहरु अघि बढाइएका छन्। तीमध्ये डोटी जिल्लाका ४ वटा परियोजनाहरु सहित ४७ वटा परियोजनाहरु सुदूरपश्चिम प्रदेशमा रहेका छन्। यसको अतिरिक्त डोटी जिल्लामा ९ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस सहित भारत सरकारले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूलाई ७८ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ ।