काठमाडौं । भारतीय राजदूतावास, नेपाल सरकार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरुले आज भारत सरकारको अनुदान सहयोगमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कुल अनुमानित लागत नेरु. ८०.३ करोडमा ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु नेपालमा सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर गरे ।

यस्ता छन आठवटा परियोजना
१ कोशी प्रदेशको सुनसरी जिल्लाको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन
२ कोशी प्रदेशको भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नं. ९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्रको निर्माण
३ बागमती प्रदेशको धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका–६ मा नगरीय कृषि तथा पशुपन्छी केन्द्र भवनको निर्माण
४ कोशी प्रदेशको मोरङ जिल्लाको बेलबारी नगरपालिका–३ मा अवस्थित बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण
५ कर्णाली प्रदेशको दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ मा १० शैयाको अस्पताल निर्माण
६ कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं. ४ मा कृषि प्रवर्द्धन केन्द्रको निर्माण
७ गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ४ मा कोल्ड स्टोरको निर्माण
८ कोशी प्रदेशको सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको निर्माण रहेका छन् ।

यी परियोजनाहरु नेपाल सरकारका स्थानीय निकाय तथा संस्थाहरुमार्फत कार्यान्वयन गरिनेछन् । सन् २००३ यता भारत सरकारले आज समझदारी पत्रमा हस्ताक्षर भएका ८ वटा परियोजनाहरु सहित हालसम्म नेपालमा ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । यीमध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा सार्वजनिक उपयोगिता निर्माणका क्षेत्रमा ५१२ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् र बाँकी परियोजनाहरु कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् ।

