४ आश्विन २०८३, आइतबार 1789937931
Banner

भोटेकोशीमा पुनः बाढीको जोखिम : नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि पुनः ठूलो जोखिम देखिएको छ । चीनतर्फबाट परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार, भदौ १० गते बाढी सिर्जना भएको क्षेत्रमा नदी थुनिएर ताल बनेको र उक्त तालको पानीको सतह बढिरहेको जनाइएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट नदी थुनिएर बनेको ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम देखिएको छ । ताल फुटेमा भोटेकोशी नदीमा पुनः आकस्मिक रूपमा ठूलो बाढी आउन सक्ने सम्भावना रहेको भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

यसअघि भदौ १० गते चीनको तिब्बततर्फबाट भोटेकोशीमा प्रवेश गरेको भीषण बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो। प्रारम्भिक अध्ययनले नदी थुनिएर बनेको संरचना तथा त्यसबाट उत्पन्न बाढीको जोखिम अझै पूर्ण रूपमा समाप्त नभएको देखाएको छ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचना आज  दिउँसो ४ः४६ बजे सार्वजनिक गरिएको हो।