काठमाडौं । बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवनमा प्रभावित भएका नेपाल टेलिकमका १५२ दूरसञ्चार साइटमध्ये ६० वटा अझै सञ्चालनमा आउन बाँकी रहेका छन्।
नेपाल टेलिकमले प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालन गर्न जेनेरेटर, ब्याट्री, इन्धन तथा आवश्यक उपकरणसहित प्राविधिक जनशक्ति परिचालन गरेको जनाएको छ।
रसुवामा न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर तथा ब्याट्रीलगायत उपकरण पुर्याएर आसपासका विभिन्न क्षेत्रमा सेवा सुचारु गरिएको टेलिकमले जनाएको छ। धुन्चेमा पनि सेवा सञ्चालनका लागि आवश्यक उपकरण र कर्मचारी परिचालन गरिएको छ।
त्यस्तै, नुवाकोटको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङको बैरेनी र ठमेल डाँडालगायत क्षेत्रमा सेवा पुनः सञ्चालनका लागि काम भइरहेको छ।
टेलिकमका अनुसार प्रभावित साइटमध्ये चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट सञ्चालनमा ल्याउन बाँकी छन्।
बाँकी साइटलाई पनि सकेसम्म छिटो सञ्चालनमा ल्याउन मर्मत तथा प्राविधिक काम भइरहेको टेलिकमका प्रवक्ता डा। कमल लामिछानेले जानकारी दिए।
प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका अन्य बीटीएसको कभरेज र क्षमता सुधार तथा अप्टिमाइजेसनको कामसमेत भइरहेको टेलिकमले जनाएको छ।
विपद्को समयमा नागरिकको सञ्चार आवश्यकतालाई प्राथमिकतामा राख्दै सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक व्यवस्थापनमा काम भइरहेको कम्पनीको भनाइ छ।

