काठमाडौं । सामाजिक उत्तरदायित्व र विपद्मा परेका नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन (आज) साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।
देशभर भइरहेको अविरल वर्षा र बाढीपहिरोका कारण धेरै परिवारहरू समस्यामा परेको अवस्थालाई मध्यनजर गर्दै नाडा टोलीले मेलाको अन्तिम समयलाई राहत कोषमा योगदान पुर्याउने अवसरका रूपमा अघि बढाउने निर्णय गरेको हो ।
‘एकातर्फ हामी सवारी साधन र प्रविधिको उत्सव मनाइरहेका छौँ भने अर्कोतर्फ देशैभर हाम्रा दाजुभाइ–दिदीबहिनीहरू प्राकृतिक विपत्तिको सामना गरिरहनुभएको छ,’ नाडाका प्रतिनिधिले भने, ‘अन्तिम ३ घण्टामा संकलन हुने टिकट शुल्क सोझै पीडितहरूसम्म पुर्याउने उद्देश्य राखेका छौँ । यो समयमा आउनुहुने प्रत्येक अवलोकनकर्ताको उपस्थिति राहत कार्यमा प्रत्यक्ष योगदान बन्नेछ ।’
काठमाडौंको भृकुटीमण्डपमा जारी नेपालकै ठूलो अटोमोबाइल प्रदर्शनीमा सहभागी भई यस परोपकारी अभियानलाई सफल बनाउन आयोजकले सर्वसाधारणलाई हार्दिक अपिल गरेको छ । संकलित सम्पूर्ण रकम निष्पक्ष र पारदर्शी ढंगले आधिकारिक राहत कोषमार्फत तत्कालै प्रभावित क्षेत्रका पीडितहरूसम्म पुर्याइने नाडाले जनाएको छ ।

