१४ भदौ २०८३, आइतबार 1788120340
अर्थ

डिभाइन हेल्थकेयरले आईपीओ निष्कासन प्रक्रिया अघि बढायो

काठमाडौं । डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रविक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् २० लाख ७० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। सम्झौता कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुशान्त मुरारका तथा सञ्चालकद्वय मनोज केसी र विनय तोदीसमेत सहभागी थिए।

वि.सं. २०७४ कात्तिकमा स्थापना भएको डिभाइन हेल्थकेयर भरतपुर महानगरपालिका–१६, विजयनगर, चितवनमा अवस्थित औषधि उत्पादक कम्पनी हो। कम्पनीले औषधि व्यवस्था विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त गरी औषधि उत्पादन तथा बजारीकरण गर्दै आएको जनाएको छ।

कम्पनीका अनुसार हाल ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ। कम्पनीले उत्पादन गर्ने विभिन्न औषधिमध्ये एसिडेक्स, नेक्सोफास्ट ५ र प्रिगेक्स रेन्जलगायतका औषधि बजारमा उल्लेख्य रूपमा बिक्री हुँदै आएका छन्।

कम्पनीले दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग सीओपीडीका बिरामीका लागि आवश्यक सुक्खा पाउडर सुँघ्ने औषधि (डीपीआई) समेत उत्पादन गर्ने तयारी गरेको छ। नयाँ औषधिको उत्पादनसँगै कम्पनीले आफ्नो उत्पादन विविधीकरण गर्ने लक्ष्य लिएको छ।

करिब एक बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको जनाएको छ। कम्पनीका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपुँजीबाटै व्यवसाय सञ्चालन गर्दै आएको छ।

डिभाइन हेल्थकेयरको देशभर १२५ भन्दा बढी वितरकको सञ्जाल रहेको छ। कम्पनीले आईपीओबाट प्राप्त हुने पुँजीलाई नयाँ प्रविधिको विस्तार, नयाँ औषधिको विकास, विद्यमान औषधिको गुणस्तर सुधार तथा उत्पादन प्रक्रियालाई थप प्रभावकारी र सुरक्षित बनाउन अनुसन्धान तथा विकासमा उपयोग गर्ने योजना बनाएको छ।

सर्वसाधारणबाट पुँजी संकलन गरेपछि कम्पनीले उत्पादन क्षमता विस्तार, नयाँ औषधिको विकास तथा गुणस्तर सुधारमा लगानी बढाउने जनाएको छ। यससँगै नेपाली औषधि बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने कम्पनीको लक्ष्य छ।