१५ भदौ २०८३, सोमबार 1788209556
अर्थ

लेमन ट्री प्रिमियर बुढानिलकण्ठले पायो ‘बेस्ट वेलनेस होटल’ पुरस्कार

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ग्लोबल टुरिज्म एक्सिलेन्स अवार्डमा नेपालस्थित लेमन ट्री प्रिमियर बुढानिलकण्ठले ‘वेलनेस’ विधातर्फ उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ। 

होटलले उक्त सम्मानलाई आफ्नो उत्कृष्ट सेवा, आतिथ्य तथा पाहुनालाई प्रदान गर्दै आएको गुणस्तरीय वेलनेस अनुभवप्रतिको निरन्तर प्रतिबद्धताको परिणामका रूपमा लिएको छ। लेमन ट्री प्रिमियर बुढानिलकण्ठ परिवारले २०८२ जेठ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

प्राकृतिक विपत्तिका कारण देशको पर्यटन क्षेत्रमा समेत गम्भीर प्रभाव परेको अवस्थामा अन्तर्राष्ट्रियस्तरको यो सम्मानले आफूहरूलाई केही हदसम्म उत्साह र आशा प्रदान गरेको होटल परिवारले जनाएको छ।

होटलका अनुसार ग्लोबल टुरिज्म एक्सिलेन्स अवार्डमा प्राप्त यो प्रतिष्ठित सम्मान उत्कृष्ट सेवा, गुणस्तरीय अतिथि सत्कार र पाहुनालाई प्रदान गर्दै आएको वेलनेस अनुभवप्रतिको निरन्तर प्रतिबद्धताको कदर हो। यस उपलब्धिले नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउन सहयोग पुग्ने विश्वास होटलले व्यक्त गरेको छ।

गौरवपूर्ण उपलब्धिका लागि होटलले निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण पाहुना, शुभेच्छुक तथा अवार्डका लागि होटललाई छनोट गर्ने सम्पूर्ण निर्णायक मण्डलप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

होटल परिवारले आगामी दिनमा पनि उत्कृष्ट सेवा, गुणस्तरीय आतिथ्य र अविस्मरणीय अनुभव प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रलाई देश तथा विदेशमा थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।