काठमाडौं । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ ।
त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले तत्कालका लागि त्रिभुवन राजपथ र कान्ति राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको बताए ।
न्यौपानेले ठूला सवारीसाधनसमेत त्रिभुवन राजपथबाट सञ्चालन गर्न सकिने बताए । उनले सडक साँघुरो भएपनि यसअघि पनि उक्त मार्गबाट सवारीसाधन सञ्चालन हुँदै आएको जानकारी दिए ।
‘वैकल्पिक रुटका लागि हाम्रो प्लानिङ भनेको अहिलेलाई त्रिभुवन राजपथ र कान्ति राजपथ नै हो, अरू बाटोहरू पनि खुलाउने तयारी गर्दैछौँ,’ उनले भने ।
कृष्णभीरमा तत्कालै स्थायी पुनर्निर्माण गर्न समय लाग्ने भएपनि अस्थायी रूपमा ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।
‘पुनर्निर्माण हुन त समय लाग्ला तर अस्थायी रूपमा ट्र्याक खोल्ने र सडक सञ्चालन ल्याउनका लागि १५ दिनको योजना बनाएका छौँ,’ न्यौपानेले भने ।
त्रिशूलीको बहाव परिवर्तनले जोखिम बढायो
न्यौपानेका अनुसार त्रिशूली नदीको बहाव परिवर्तन भएर सडकतर्फ कटान सुरु भएकाले पूर्वाधारमा जोखिम बढेको छ ।
‘खोलाको बहाव चेन्ज भएको छ । रोडको साइडतिर खोला बग्न थालेको छ । त्यसले सडकमुनि कटान गरेर ड्यामेज गराइरहेको छ’ उनले भने ।

