काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघ र संघमा आवद्ध निर्जीवन बीमा कम्पनीहरूले भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेको छ ।
संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति संघले दुःख व्यक्त गर्दै राहतका लागि रकम हस्तान्तरण गरेको हो ।
संघ लगायत संघमा आवद्ध कम्पनीहरु सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जिआईसी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्सले सहयोग गरेको हो ।
साथै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीबाट गरिएको योगदान २६ लाख २३ हजार १८ रुपैयाँ समेत हस्तान्तरण गरिएको छ ।
संघका अनुसार एनएलजी इन्स्योरेन्स, र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै सहयोग रकम हस्तान्तरण गरिसकेको छ भने बाँकी कम्पनीहरुले समेत योगदान गर्ने क्रममा रहेको छ ।
संघले यस विपत्तिमा परी क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा जनधनको विवरण प्राप्त भएपछि सोको दाबी भुक्तानी गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर भुक्तानी गरिने प्रतिवद्धता व्यक्त गरेको छ ।

