१९ भदौ २०८३, शुक्रबार 1788555109
Uncategorized

एफ वान सफ्ट ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

काठमाडौँ । एफ वान सफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।

इसेवा, फोनपे, एफ वान सफ्ट इन्टरनेसनल, ईसेवा मनी ट्रान्स्फरलगायत एफवानसफ्ट ग्रुपअन्तर्गतका कम्पनी तथा कर्मचारीहरूको संयुक्त पहलमा उक्त सहयोग गरिएको हो । बाढी प्रभावितहरूसँग उभिने तथा आवश्यक परेको समयमा राहत र पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनी र कर्मचारीको संयुक्त प्रयासमा उक्त रकम सहयोग गरिएको ग्रुपले जनाएको छ ।

यसैगरी, फोनपे र इसेवामार्फत राहतका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने सबैप्रति एफ वान सफ्ट ग्रुपले आभार व्यक्त गरेको छ। हालसम्म इसेवाका १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै, फोनपेका ८ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरेका छन् ।

फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदानसमेत समावेश छ । भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख रुपैयाँ तथा चीन र दक्षिणपूर्वी एसियाबाट अलीपेमार्फत २ हजार ९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

एफवानसफ्ट ग्रुपले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ ।

साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति पनि ग्रुपले आभार व्यक्त गरेको छ ।