काठमाडौं । नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने कार्यक्रम यथावत राखेको छ।
जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने आइतबार रिहा भए पनि आन्दोलनको कार्यक्रम यथावत रहेको ललितपुर बार एशोसिएसनका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।
यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए। आइतबार नै नेपाल बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो ।
यो विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई आइतबार नै साधारण तारेखमा रिहा गरेको थियो ।
ललितपुर बार एशोसिएसनका अध्यक्ष श्रेष्ठले लामिछाने रिहा भए पनि आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने र विरोधसभा गर्ने बताए । ललितपुर जिल्ला अदालत अगाडि आज बिहान ११ बजे विरोधसभा आयोजना गरिएको उनले जानकारी दिए ।
कानुन व्यवसायी माथि झुठ्ठा मुद्दा लगाइएको र अदालतमा विकृति, विसंगति भएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालत बार एशोसिएशन सहित उपत्यकाका जिल्लाहरू काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, विशेष अदालत बार एकाइ र पाटन उच्च अदालत बार एकाइको संयुक्त आयोजनामा विरोधसभा गर्न लागिएको हो ।