८ मंसिर २०८१, शनिबार 1732415671
Banner

सर्वोच्चले २८ गते प्रधानमन्त्री दाहालविरुद्धको मुद्दाको फैसला सुनाउने

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको २८ मंसिरमा निर्णय सुनाउने भएको छ ।

लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा आइतबार दुवैतर्फको बहस सकिएको छ । बहस सकिएपछि इजलासले २८ मंसिरमा निर्णय सुनाउने भनी आदेश दिएको हो ।

सो मुद्दाको निर्णय न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सुनाउने भनी मिति तोकिएको छ ।

द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
उनीमाथिको आरोप ठहर भएमा अदालतले कैद वा जरिवानाको प्रस्ताव सहित उनलाई माफी माग्ने अवसर दिन सक्नेछ । आरोप पुष्टि नभए निवेदन खारेज हुन्छ ।