२३ भाद्र २०८१, आइतबार 1725779679
Banner

सन्दीपविरुद्ध गौशाला २६ ले पुनरावेदन नगर्ने  

काठमाडौं । आफुमाथि क्रिकेटर सन्दीप लामिछानेले बलात्कार गरेको आरोप लगाउँदै आएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने भएकी छिन् । उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधीवक्तालाई निवेदन दिँदै उनले मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् ।

उनले बुधबार महान्यायाधीवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् । सरकारी वकिल कार्यलयमा दर्ता नम्बर ३३२ मा दर्ता भएको हस्तलिखित निवेदनमा भनिएको छ, ‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रुपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र ममाथि दवाव बढाएका थिए ।

लामो समयदेखि उक्त घटनाको कारण त्राशपूर्ण जीवन बाँच्दै आएको छु । मुद्दाको कारण म त्राशपूर्ण जीवन बाँच्दै आएकी छु । साथै यस मुद्दाले पार्ने दुरगामी असरको बारेमा म अवगत थिइनँ । सम्मानित अदालतको फैसलामा लिएका आधारहरुलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारवाही थप अगाडि नबढाउन आग्रह गर्छु ।’

गौशाला २६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषि ठहर गरेको थियो । तर, सो फैसला उल्टाउँदै उच्च अदालतले सफाइ दिएको छ । गौशाला २६ ले चाहेमा उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्न सक्छिन् ।