४ आश्विन २०८१, शुक्रबार 1726884212
Banner

जनार्दनले पार्टी फुटाउँछ भन्ने हल्ला गलत हो, हाम्रो कुरा मिलिसक्यो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताए । उनले उपमहासचिव जनार्दन शर्माले पार्टी फटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको बताए । उनले पार्टी एकतावद्ध भएको पनि बताए ।

उनले भने, ‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन् । होहल्ला, प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम भए । यो बैठकसम्म आउँदा ति सबै भ्रम चिरिएका छन् । खासगरी कमरेड प्रभाकरले पार्टी फुटाउँछ भनेको जस्तो जो माहोल बनेको छ, त्यो बिल्कुलै गलत हो, हाम्रो पार्टी एकतावद्ध भएको छ र कमरेड प्रभाकर लगायतसँग जे आशंका गरिएको छ, गलत छ ।’

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पीडितकेन्द्रित, पीडितमैत्री बनाउने सम्पूर्ण प्रयास गरिएको र यसले पीडितहरुको मागलाई, चाहनालाई राम्रोसँग सम्बोधन गरेको जिकिर गरे । दृढतापूर्वक कार्यान्वयनमा लैजान आवश्यक रहेको उनले बताए ।