अछाम- बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको हो ।

मंगलबार बेलुका ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
आगो निभाउनका लागि नेपाली सेनाको गोरख बक्स गण मङ्गलसैनबाट सेनानी अमृत खड्काको कमाण्डमा-२० जनाको टोली, जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा-९ जनाको टोली र सशस्त्र प्रहरी बल खप्तड गुल्मका सशस्त्र प्रहरी निरीक्षक हंसराज जोशीको कमाण्डमा-११ जनाको टोली खटिएको जनाइएको छ । साथै मङ्गलसेन नगरपालिकाको दमकल पनि खटाइएको छ ।
आगलागीबाट करिब ७ करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।