काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश कमिटीको आयोजनामा काठमाडौंमा सञ्चालन गरिएको आर्थिक परिचालन तथा लेखा व्यवस्थापन प्रशिक्षण कार्यक्रमका सहभागीले २५ बुँदे साझा प्रतिबद्धता जनाएका छन्।

नेकपा (एमाले) केन्द्रीय लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेलको प्रमुख आतिथ्यता प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा सहभागी एमाले वाग्मती प्रदेश कमिटी र अन्तर्गतका जिल्ला कमिटीहरू तथा महानगर कमिटी र उपमहानगरपालिका कमिटीको सामूहिक प्रतिबद्धताका रूपमा सो घोषणा गरिएको नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयाे।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न र एमालेलाई राष्ट्रिय निर्णायक शक्तिको रूपमा स्थापित गर्नको लागि पार्टीको प्रदेश, जिल्ला, महानगर र उपमहानगरपालिकाले कमिटीहरूको आर्थिक काम र लेखा व्यवस्थापनलाई चुस्त, दुरुस्त, स्वच्छ, पारदर्शी, जबाफदेही र सुदृढ बनाउन सामूहिक प्रतिबद्धता गरेको लामाले बताउनुभयो।
आर्थिक परिचालन तथा लेखा व्यवस्थापनको काम पार्टीको सांगठनिक कामको एक अङ्ग भएकोले यसलाई व्यवस्थित, सुदृढ र पारदर्शी बनाउन सकेमा मात्र पार्टी कमिटीलाई सहजतापूर्वक सञ्चालन गर्न र समग्र नेतृत्व विकासमा सहयोग पुग्ने कुरामा सहभागीको एकमत रहेको छ। यसले पार्टी पंक्ति र आमजनताको विश्वास बढ्छ भन्ने कुरामा सहभागीहरू एकमत भएका छन्।
पार्टीका सबै कमिटीका लेखा परीक्षणको काम सम्पन्न गराई पार्टी दोस्रो विधान महाधिवेशन अगावै अन्तिम लेखा परीक्षण सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरिएको छ । ऋणमा रहेका पार्टीका कमिटीले ऋण रकम कमिटीबाट अनुमोदन गराउने र विशेष ऋण मोचन कार्ययोजना बनाई यो आउने आर्थिक वर्ष भित्र ऋणमुक्त हुने प्रतिबद्धता जनाइएको छ।
पार्टी विधान र नियमावली अनुसारको सदस्यता शुल्क र कमिटीले तोकेको लेबी नियमितमा रूपमा उठाउने र नतिर्ने पदाधिकारीहरू तथा सदस्यहरूको बैठकबाट अनुमोदन गरी बक्यौताको अभिलेख दुरुस्त राख्ने निर्णय भएको छ।