२८ असार २०८२, शनिबार 1752347123
प्रदेश

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन शुरु

म्याग्दी : मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन शुरु भएको छ। खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एमरएस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्न लागेको हो। मालिका गाउँपालिका- ३ र ४ को सिमानामा तामाखानी छ। 

मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार भूगर्भविद्हरुको टोलीले खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन गर्नेछ। 

प्रभावित क्षेत्रका बासिन्दाको सुझाव सङ्कलनका लागि कम्पनीले गत हप्ता ओखरबोटमा सार्वजनिक सुनुवाइ गरेको थियो। कम्पनीले मंगलबार सात दिने सार्वजनिक सूचना पनि जारी गरेर प्रभावित क्षेत्रका बासिन्दा तथा सङ्घसंस्थाबाट सुझाव माग गरेको छ। 

स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुशी व्यक्त गरेका छन्। वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन सुझाव दिएका छन्। 

स्थलगत अध्ययनका लागि आउनुभएका भूगर्वविद् रोनित पौडेलले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान गरिने बताए। खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने उनको भनाइ छ। 

मालिका गाँउपालिका-३ का ७२ वर्षीय विसराम पटेलका अनुसार ओखरबोटको खानीबाट २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरी तामा निकाल्ने गरिन्थ्यो। प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको पटेलले बताए। 

तामाखानीमा दैनिक २०० भन्दा बढी कामदर खटिनुका साथै प्रत्येक दिन सात-आठ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलको सम्झना छ। तामाखानीमा दुई वटा मुहान छन्। ती मुहानहरुको लम्बाइ २५० देखि ५०० मिटरसम्म रहेको छ। यहाँ अझैसम्म पनि तामाका घाउ देख्न सकिन्छ। २०० मिटरभित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन्।