५ आश्विन २०८१, शनिबार 1726981427
Banner

नेपालमा मनसुन भित्रियो, औसतभन्दा बढी वर्षाको सम्भावना

नेपालमा आइतबारदेखि मनसुन भित्रिएको छ । जल तथा मौसमविज्ञान विभागले यसअघि अनुमान गरेको मितिभन्दा आठ दिनअघि नै नेपालमा मनसुनको भित्रिएको हो । विभागले आइतबार विशेष मौसम बुलेटिन जारी गर्दै नेपालको पूर्वी भूभागको प्रदेश १ हुँदै मनसुन भित्रिएको जनाएको छ । केही दिनभित्रै देशका सबै भूभागमा मनसुन प्रवेश गर्ने अनुमान विभागले गरेको छ । 

न्यूनचापीय क्षेत्रको विस्तार भएका कारण छिट्टै मनसुन भित्रिएको वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताउभयो । उहाँका अनुसार भारतको केरलामा झन्डै एक साताअघि निर्माण भएको मनसुनी न्यूनचापीय प्रणाली त्यहाँको बढ्दो तापमानका कारण विस्तार हुने र अन्यत्र सर्ने क्रममा तीव्रता आएकाले पनि नेपालमा मनसुन एक साताअघि नै भित्रिएको हो । 

धान रोपाइँको सिजन सुरु भएकोले पनि छिट्टै वर्षा हुँदा उत्पादन राम्रो  हुनेमा किसान आशावादी । 

नेपालमा मनसुन आउनुपूर्व भारतमा बनेको प्रणाली दुई भागमा छुट्टिएर एउटा पाकिस्तानतर्फ र अर्को बङ्गालको खाडीतर्फ सरेको थियो । त्यो प्रणाली बङ्गालको खाडीमा पुगेर थप विस्तार नहुँदै नेपालमा आइपुगेकाले पनि मनसुनको आगमन यसपालि छिटो भएको हो । मनसुन बङ्गालको खाडीमा विस्तार भएपछि वर्षाको स्तर थप बढी हुन सक्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “नेपालमा पूर्वमनसुनको गतिविधि राम्रो रहेकाले पनि मनसुनका लागि आवश्यक वातावरण पहिलेदेखि नै बनेको थियो, त्यसले पनि केही हदसम्म छिटो मनसुन भित्र्याउन सहयोग पु-याएको हुन सक्छ ।”

मनसुन आगमन भएसँगै देशका विभिन्न स्थानमा वर्षाले निरन्तरता पाएको छ । छिट्टै मनसुन भित्रिएकाले किसान वर्गमा हर्ष छाएको छ । धान रोपाइँको सिजन सुरु भएकोले पनि छिट्टै वर्षा हुँदा उत्पादन राम्रो हुने आशा किसानको रहेको कृषि मौसमविद् रामेश्वर रिमालले बताउनुभयो ।