काठमाडौं । काठमाडौं साँखुस्थित शालीनदीमा स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेलाको पहिलो दिन शनिबार भक्तजनहरुको बाक्लो उपस्थिति देखिएको छ । शनिबारबाट सुरु भएको शालीनदी मेलामा महिला–पुरुष, युवादेखि वृद्धसम्मका भक्तजन मन्दिर परिसरमा उपस्थित पूजा–अर्चना तथा स्नान गरिरहेका छन् ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन् । शालीनदी स्वस्थानी व्रत कथा र माधवनारायण मेला साँखु तथा आसपासका स्थानीय समुदायका लागि मात्र नभई देशका विभिन्न भागबाट आउने भक्तजनका लागि पनि महत्वपूर्ण धार्मिक अवसर मानिन्छ । व्रतको अवधिभर भक्तजनले कथा सुनेर आर्शिवाद लिने परम्परा चलिआएको छ ।


