काठमाडौँ : टोखामा बिस्केट जात्रा सुरु भएको छ । नेवार समुदायको बाहुल्य रहेको यहाँको सपनतीर्थमा मेला पनि लागेको छ । जात्रा व्यवस्थापन समितिका सहसंयोजक गणेशमान श्रेष्ठका अनुसार हिजो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलाग: टोलमा, चण्डेश्वरीको रथ थलाग: टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइएको थियो ।
आज बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बलि पूजा लिइ कोठु गणेश र मसानकाली दुवै रथ थलाग: टोलमा बिसाइन्छ । आज अपराह्न तलेजुबाट सिन्दुरजात्रा गरिन्छ ।
वैशाख ३ गते बिहान तपलाक्षी:बाट सिन्दुरजात्रा गरी देवता हासल टोलमा देव रथ बिसाइन्छभने अपराह्न जीवित देवी कुमारीसहित सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याइने उनले जानकारी दिए ।
जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान बाजागाजासहितको सन्दुरजात्राले गाउँ परिक्रमा गर्ने कार्यक्रम छ । वैशाख ५ गते बिहान लिङ्गो ढालेसँगै जात्रा समापन हुन्छ ।
टोखामा आज सार्वजनिक बिदा
बिस्केट जात्राका अवसरमा टोखा नगरपालिकाले आज टोखा नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ । गत चैत १५ गतेको टोखा कार्यपालिका बैठकले आज नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


