काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बाढी र पहिरोको विपद्मा भारत सधैं नेपालको साथमा रहेको बताएका छन्।
गत बुधबारका दिन आएको बाढीलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई फोन गरेर जनधनको क्षतिप्रति समवेदना प्रकट गरेको राजदूत श्रीवास्तवले जानकारी दिएका हुन् । मोदीले नेपालको उद्धार र राहत कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए। बाढी गएकै दिनदेखि भारतले नेपालमा चारवटा राहत उडान पठाइसकेको छ। राजदूत श्रीवास्तवका अनुसार हालसम्म ६७ टनभन्दा बढी राहत सामग्री नेपाल ल्याइएको छ। उक्त राहत सामग्रीमा टेन्ट, त्रिपाल, औषधि र विपद्को समयमा आवश्यक पर्ने अन्य अत्यावश्यक उपकरण समावेश छन्। राहत सामग्रीका साथै भारतले उद्धार र पहिचानका लागि दुईवटा छुट्टाछुट्टै विशेषज्ञ टोली पनि नेपाल पठाएको छ।

विशेषज्ञ टोलीअन्तर्गत पहिलो चरणमा सुरुङभित्र उद्धार गर्न सक्ने तालिमप्राप्त समूह रसुवा पुगेको छ। सुरुमा ११ जना र पछिल्लो उडानमा थप १३ जना गरी आएको उक्त टोलीले रसुवा आसपासका क्षेत्रमा आवश्यक उपकरणसहित रेकीको काम गरिरहेको छ। त्यसैगरी, शव पहिचानका लागि भारतबाट १९ जनाको डीएनए विशेषज्ञ टोली पनि नेपाल आएको छ। यस टोलीले नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशालाका अधिकारीहरूसँग मिलेर फेला परेका शवहरूको डीएनए विश्लेषण गर्न सहयोग गर्नेछ।
बाढीपहिरोमा परी ठूलो संख्यामा भारतीय नागरिक पनि प्रभावित भएका छन्।
भारतीय विदेश मन्त्रालयले तयार पारेको सूचीअनुसार करिब २ सय ६८ जना भारतीय नागरिक अझै बेपत्ता छन्। नेपाली सेना र सुरक्षा निकायको सहयोगमा हालसम्म १ सय ५८ जना भारतीयको सकुशल उद्धार गरिएको छ। विदेश मन्त्रालयले उद्धार गरिएका व्यक्तिहरूको सूची सार्वजनिक गरिसकेको छ।
उद्धार गरिएकामा कैलाश मानसरोवर यात्रामा गएका तीर्थयात्री, माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा एन्ड्रिज कम्पनीका लागि काम गर्ने मजदुर र अन्य भारतीय नागरिक छन्। उद्धार गरिएकामध्ये तमिलनाडुका २१ जनाको समूह भारत फर्किसकेको छ। उनीहरूलाई भारतीय विदेशमन्त्री डा. एस जयशंकरले स्वागत गरेका थिए।
दुई देशबिच सन् १९५० मा भएको सन्धिअनुसार बिनाभिसा र रोकटोक एकअर्काको देशमा काम गर्न पाइने भएकाले धेरै भारतीय नागरिक नेपालमा रहेका बखत यो विपद्मा परेको राजदूत श्रीवास्तवले स्पष्ट पारेका छन्।

