८ मंसिर २०८१, शनिबार 1732361728
कृषि

भारतबाट तरकारी भित्रिँदा नेपाली उत्पादन बारीमै सुक्यो

काठमाडौं । भारतीय तरकारी भित्रिँदा नेपाली उत्पादन बारीमै सुकेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्छन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगीलगायत किसानको तरकारी बारीमै सुकेको हो । उनी गर्मीको कुनै प्रवाह नगरी काम गर्छन् । तर, उत्पादन बारीमै सुकेको देख्दा उनी चिन्तित छन् ।

उनले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भएको बताए । ‘१७ कट्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन,’ उनले भने, ‘अब गाई, बाख्रालाई खुवाउनुभन्दा विकल्प भएन ।’

उनले यसरी खेती गर्न लागेको १० वर्षभन्दा बढी भयो । गएको वर्ष बन्दा राम्रै बिक्री भएको थियो । त्यही भएर पनि यस वर्ष हौसिएर १७ कठ्ठामा लगाएको उनले बताए ।

‘गत वर्ष राम्रै माग भएको थियो, बिक्री पनि राम्रै भएको थियो,’ उनले भने, ‘त्यही भएर मैले यस वर्ष धेरै क्षेत्रमा यो खेती गरेको हुँ ।’

भारतबाट आउने तरकारीले गर्दा यहाँको बन्दा बिक्री नभएको उनको गुनासो छ । ‘सबै भारतबाट आइहाल्छ,’ उनले भने, ‘त्यसले गर्दा हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन ।’

कृषि प्रधानदेशमा किसानले लगाएको तरकारी नै बिक्री नहुनुले मुलुक कता जाँदैछ भन्ने चिन्ताले पिरोल्ने गरेको उनी बताउँछन् ।