५ आश्विन २०८१, शनिबार 1726935788
Banner

गट्ठाघरमा मृतक पुरुषलाई आफ्नी बहिनी भन्दै सनाखत गर्ने युवक पक्राउ, मुद्दा चलाउने तयारी

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। दोलखाको मेलुङ गाउँपालिका – ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।

पक्राउ परेका उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन्। उनले मृतकलाई किन आफ्नी बहिनी भने भन्ने नखुलेको प्रहरीको भनाइ छ । उनले यसअघि पनि पटक-पटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको एक प्रहरी अधिकृतले बताए ।

बिहीबार दिउँसो घटनास्थलमै पुगेर उनले मृतक महिला आफ्नी बहिनी हुन् भन्ने दाबी गरेपछि उनी घटनास्थलबाट हिँडेका थिए। मृतक महिला नभएर पुरुष भएको पुष्टि साँझ मात्रै भएको थियो। त्यसपछि प्रहरीले उनलाई खोजेर पक्राउ गरेको हो।

बिहीबार दिउँसो गट्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । सुरुमा प्रहरीले मृतकलाई महिला भन्दै घटना विवरण सार्वजनिक गरेको थियो।

पछि अनुसन्धानको क्रममा मृतक महिला नभएर पुरुष भएको खुलेको थियो। घटनामा परी ओखलढुंगाका ६५ वर्षिय उत्तम कोइरालाको निधन भएको पुष्टि भएको छ । उनी सहीद महेश कोइरालाका भाइ रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उत्तम कोइरालाका दाजु महेश कोइराला २०३१ सालमा कांग्रेसले थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट मारिएका थिए । 

नेपाली कांग्रेसको इतिहासमा टिम्मुरबोटे काण्डका रुपमा चिनिने त्यो घटनालाई नेपालको इतिहासमा भने ओखलढुंगा काण्ड भनेर चिनिन्छ ।  राति गुफामा बास बसेको कांग्रेसको मुक्ति सेनालाई घेरा हालेर मारिएको थियो । टिम्बुरबोटे काण्डमा महेश कोइरालासहित १९ जना मारिएका थिए ।

मृतकको साथमा उत्तम कोइराला, ओखलढुंगा रातमाटे- ५ लेखिएको सवारी लाइसेन्स फेला परेको थियो । सोही आधारमा खोजी गर्दा उनका आफन्तले आज शवको सनाखत गरेका हुन् ।