१६ आश्विन २०८३, शुक्रबार 3:55 am
Uncategorized

दैजीछेला औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ

काठमाडौं । विसं २०५१ देखि चर्चामा रहेको कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित दैजीछेलामा औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ हुँदै आएको छ ।

तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । औद्योगिक क्षेत्रमा पर्ने रुख गणनाको काम अन्तिम चरणमा पुगे पनि अन्य प्रगति हुन सकेको छैन ।

औद्योगिक क्षेत्र स्थापनाका लागि पाँच वर्षअघि गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)मा २५ हजार नौ सय ६८ रूख काटनुपर्ने देखिएका थियो ।

अहिले रुखको सङ्ख्या बढेकाले थप डिपिआर र ईआईए गर्नुपर्ने भएपछि प्रक्रियागत कुराले लम्बिन सक्ने बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले बताए ।

‘अहिले उक्त क्षेत्रमा रूखहरु छपानको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘छिट्टै सरकारले यसको निर्माणको काम अघि बढाउँछ ।’

सरकारले औद्योगिक क्षेत्र घोषणा गरेपछि विभिन्न चरणमा अध्ययन गरिए पनि कामले गति लिन नसकेको नगरप्रमुख बोहराको भनाइ थियो । ‘शिलान्यास भए पनि अहिलेसम्म औद्योगिक क्षेत्रको कामले गति लिएको छैन,’ उनले भने ‘वन कार्यालयले कटान हुने रूखमा टाँचा लगाएपछि वन मन्त्रालयबाट कटान आदेश आउँछ अनि मात्रै रूख काटिन्छन् । त्यसपछि भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढ्छ ।’

डिभिजन वन कार्यालय कञ्चनपुरले दैजीछेला औद्योगिक क्षेत्रमा ४२ हजार रुखको लगत सङ्कलन गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले औद्योगिक क्षेत्रका रूखको लगत सङ्कलन गरेर कम्प्युटरमा राख्ने काम भइरहेको बताए ।

‘हामीले लगत सङ्कलन गरेर वन निर्देशनालयमा पठाउने हो । त्यहाँबाट विभागले मन्त्रालयमा पेस गर्दछ,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट रुख कटानको आदेश आएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्छ ।’

मन्त्रिपरिषद्ले निर्णयपश्चात् औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र वन निर्देशनालयबीच सम्झौता भएपछि मात्रै कटानको काम हुने सूचना अधिकारी अवस्थीले बताए ।

बेदकोट नगरपालिका¬–२ को जनचेतना सामुदायिक वन र वडा नं ३ को बेदकोट सामुदायिक वनको साढे चार सय बिघा जमिनमा औद्योगिक क्षेत्र स्थापना हुनेछ । उक्त क्षेत्रमा साना, मझौला र ठूला गरी एक सय २४ उद्योग स्थापना गर्न सकिने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले जानकारी दिए ।

\उनले औद्योगिक क्षेत्र स्थापनामा धेरै ढिलाइ भएकाले अब विलम्ब गर्न नहुने बताए ।

‘औद्योगिक क्षेत्र बन्छ भनेको पनि तीन वर्ष पुग्न लाग्यो, अहिलेसम्म काम केही भएको छैन,’ मल्लले भने ‘सरकारले प्राथमिकतामा राखेर औद्योगिक क्षेत्रको काम अगाडि बढाउनुपर्छ ।’ उनले औद्योगिक क्षेत्र स्थापना भए यहाँका स्थानीयले रोजगारी पाउने बताए ।

मल्लका अनुसार औद्योगिक क्षेत्रमा एक सय प्लट रहने गरी साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्याइएको छ । औद्योगिक क्षेत्रको कार्यालय स्थापनापश्चात् यहाँका स्थानीयमा समेत आशा जागेको छ । लामो समयदेखि चर्चामा रहेको औद्योगिक क्षेत्र निमार्ण हुनेमा स्थानीय आशावादी छन् ।

‘अहिले रूख छपानको काम भइरहेको छ कार्यालय पनि खुलिसक्यो अब त बन्छ होला,’ औद्योगिक क्षेत्र नजिकै घर भएका धनबहादुर चौधरीले भने, ‘बने त हामीलाई पनि रोजगारी पाउने आशा छ छोराछोरीले रोजगारी गर्न विदेश जानुपर्ने थिएन ।’
उनले औद्योगिक क्षेत्र बन्ने चर्चा चलेको २७ वर्ष भइसकेको बताउँदै अब ढिलाइ गर्न नहुने बताए । औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भएपश्चात् सुदूरपश्चिमको आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ ।

Tags :